
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले सहज सेवा तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका बिभिन्न स्थानहरुमा देखिएका समस्याहरुलाई समाधान गर्ने भन्दै पाँच बुँदे प्रतिबद्धता जनाएको हो ।
पालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक भएको सार्वजनिक सुनुवाई कार्यक्रम सहभागि तीन सय बढी स्थानीयको उपस्थितिमा बिहीबार तत्काल कार्य गर्ने भनेर सार्वजनिक रुपमा भनेको छ ।
गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका कार्यालयसम्म आवतजावत गर्ने सडक चालु आर्थिक बर्षभित्र कालोपत्रे गर्ने, गाउँपालिका भित्रका सडक विस्तार तथा स्तरोन्नती गर्न आवश्यक पहल गर्ने, छोरी बिमा कार्यक्रम अन्तर्गत विमा गरिसकेका छोरीहरुको विमा कागजात हालसम्म अभिभावकलाई उपलब्ध नभएको गुनासो आएकाले एक साताभित्र अभिभावकलाई उपलब्ध गराउने आगामी दिनमा समयमा विमा कार्ड उपलब्ध गराउने गरी ब्यवस्थापन गर्ने, गाउँपालिकाको सेवा प्रवाहका बिषयमा बैधानिक रुपमा प्रयोजनसहित सूचमा माँग गरिएमा समय सिमाभित्र सूचना उपलब्ध गराउने, गाँउपालिकाले गरेका कामहरु सार्वजनिक गर्न, आर्थिक बर्षभित्र कम्तिमा दुई पटक सार्वजनिक सुनुवाई गर्ने र गाँउपालिकाभित्र सञ्चालित योजनाहरुको प्रभावकारिता अनुगमन गर्ने छन् ।
कार्यक्रममा गाँउपालिकाले प्रदान गर्ने सेवा तथा प्रवाह गरेका क्रियाकलापहरुका बारेमा गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी गराउनुभएको थियो । बासका उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, प्रमुख पैशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख र स्थानीयको सहभागिता रहेको थियो ।





