
नेपालगन्ज । नेपाल प्रेस युनियन, बाँकेको जग्गा अन्ततः सुनिश्चित भएको छ । नेपालगन्ज ग्रिनसिटी प्रालिले युनियन बाँकेलाई आधा कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको हो । उक्त कम्पनीले युनियन बाँकेलाई जग्गा दिने निर्णय गरेसँगै जग्गाको सुनिश्चित भएको नेपालगन्ज ग्रिनसिटीका प्रबन्ध निर्देशक रसिद कुरैसीले जानकारी दिनुभएको छ ।
‘युनियन बाँकेको आग्रहलाई स्वीकार गरेर हाम्रो कम्पनीले निःशुल्क रुपमा आधा कठ्ठा (१० धुर) जग्गा उपलब्ध गराउने पक्का भइसकेको छ,’ उहाँले भन्नुभयो ‘केहीदिन भित्रै हामी युनियन बाँकेको नाममा जग्गा नामसारी गरिदिन्छौं, अब युनियनले लालपुर्जा पाईहाल्छ ।’ संगठनका लागि जग्गा खोज्न युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेतृत्वदायी र प्रेस युनियन बाँकेका अग्रज श्रीराम सिग्देलले समन्वयकारी भूमिका निभाउनुभयो ।
जग्गा प्राप्तीका लागि सरकारी तथा गैर सरकारी निकाय, सामाजिक तथा धार्मिक संघ संस्था, दाता लगायतलाई आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र संस्थाका लागि आवश्यक पर्ने जग्गा खोजी गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकाय र जग्गा दातासँग छलफल, समन्वय गर्न अध्यक्ष ओलीलाई नै सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो ।
‘संगठनको निर्णयपछि भने औपचारिक रुपमै प्रस्तावनाहरु तयार गरेर हामी करिव ९/१० जना जति जग्गा दातालाई भेट्यौंं, कतिपय दाताहरु युनियनलाई जग्गा दिन तयार हुनु भयो, तर कति जग्गाहरु नेपालगन्ज बजार क्षेत्रभन्दा बाहिर फेला परे, बजार क्षेत्रभित्रै कति ठाउँमा दाताहरु दिन तयार भएपनि जग्गामा किचलो भएको पाइयो, विवादमा परेर जग्गा लिन चाहेनौंं,’ ओली सम्झिनुहुन्छ, ‘त्यतिबेला ज(जसले हामीलाई विश्वास गरेर जग्गा दिन तयार हुनु भएको थियो, उहाँहरुको त्यो निर्णयलाई म नमन गर्दछु ।’
२०८० बैशाख २९ गते नेपालगन्ज ग्रिनसिटी प्रा।लि। समक्ष प्रस्तावना पेश गरेपछि भने उक्त कम्पनीले युनियन बाँकेलाई निःशुल्क जग्गा उपलब्ध गराएको हो । प्रस्तावनामा युनियनको भवन निर्माण उद्देश्य, युनियनको भवनमा समेट्ने विषय, संगठनको संरचना, भवन निर्माण प्रक्रिया लगायत कुराहरु समेटिएका छन् । युनियनको आफ्नै जग्गा भएपछि अब भवन निर्माण गर्ने बाटो खुलेको ओलीले बताउनुभयो । जग्गा उपलब्ध गराउनु हुने दाता कम्पनीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,ु उहाँले भन्नुभयो ।
नेपालगन्ज ग्रिनसिटी प्रालिबाट युनियन बाँकेले निःशुल्क जग्गा प्राप्त गरेको कुरा प्रेस युनियन बाँकेको सम्पन्न १२ औं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा कम्पनीका प्रबन्ध निर्देशक कुरैसीको आग्रहमा अध्यक्ष ओलीले औपचारिक रुपमा घोषणा गर्नुभएको थियो । प्रालिको बोर्ड बैठकले पनि औपचारिक निर्णय गरिसकेको प्रबन्ध निर्देशक कुरैसीले बताउनुभयो ।
‘युनियनको आफ्नो भवन नहुँदा विगत तीन वर्षदेखि कोठा भाडा तिरेर नियमित रुपमै कार्यालय सञ्चालन गर्यौं,’ अध्यक्ष ओलीलले भन्नुभयो ‘अब जग्गा प्राप्त भईसकेपछि युनियनको भवन निर्माणलाई अगाडी बढाउन सहज भयो ।’ युनियन बाँकेका पुर्वअध्यक्ष नरेन्द्र थापाको कार्यकालमा युनियन बाँकेले आयोजना गरेको एक कार्यक्रमबाट बचत भएको रकम युनियन बाँकेको भवन निर्माण गर्नेु उद्देश्यले मुद्दती खातामा जम्मा गरिएको छ ।





