
नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गर्नुभयो ।
जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रृबिकृत हुने अवस्था बनेको भन्दै उहाँले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिनुभयो ।
गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गर्नुभयो । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उहाँले कांग्रेस सक्षम भए कसैसंग पनि गठबन्धन गर्नु नपर्ने बताउनुभयो ।
‘कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन,’ कोइरालाले भन्नुभयो ‘हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।’ उहाँले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गर्नुभयो ।
कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निमूल गर्न नसके पनि कम गर्न सकिने बताउनुभयो । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा विग्रिने भन्दै उहाँले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिनुभयो ।
कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिनुभयो । केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।
मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उहाँले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गर्नुभएको थियो ।
सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसंग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसंग मिलेर कांग्रेससंग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।
पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उहाँले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिनुभयो । कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले आफ्ना सुझाब, सल्लाह, प्रश्न नेताहरुसमक्ष राखेका थिए ।
उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।





