
नेपालगन्ज । कोहलपुर नगरपालिका वडा न-११ स्थित नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।
क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवार समेत बसेको सुन्न आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृ विष्णु साहनीद्धारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानून अनुसार कारवाहीको चेतावनी दिइएको छ ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृत भूमि अतिक्रमित बनाइएका संरचना हटाउने सम्वन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो ।
सोही अनुसार नगर विकासले सात दिनको समय दिएर अतिक्रमित संरचना खाली गर्न सूचना जारी गरिसकेको छ । भदौ ४ गतेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले अतिक्रमित जग्गा खाली गराउने सहमति गरिसकेको छ ।
सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्पन्न परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका छन् । अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गा अतिक्रमण गरेर ६१८ घरधुरी बस्दै आएको तथ्याँक छ ।





