च्याउ नचिन्दा दैनिक गईराछ अकालमा ज्यान

नेपालगन्ज । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका-५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किनुभयाे । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उहाँले त्यसैसँग खाना खाएर सुत्नुभयाे ।

अर्कोदिन घरमा तीनै जना बिरामी पर्नुभयाे । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न जानुभयाे, अवस्था झन् गम्भीर बन्दै गएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइयो । तर दुईदिनको अन्तरालमा भीमा, उहाँका ११ वर्षका छोरा प्रेम र ५ वर्षका छोरा सुशीलको मृत्यु भयो ।

त्यसै गाउँकी २६ वर्षीया बिमला बिकको पनि जंगली च्याउ खाँदा ज्यान गयो । २६ असारमा जंगलबाट ल्याएको च्याउको तरकारी बिमलासहित परिवारका ४ सदस्यले खाएका थिए । रोल्पामा प्राथामिक उपचारपछि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएका उहाँहरुमध्ये बिमलाको मृत्यु भयो भने तीन जनालाई निको भए ।

यस्तै साउन २९ गते घर नजिकैको जंगलमा भेटिएको च्याउ खादा दाङ बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार, उहाँका श्रीमान् र छोरी बिरामी पर्नु भयाे । ११ वर्षीया छोरी अस्मिताको प्रादेशिक अस्पताल बुटवलमा साउन ३१ गते उपचारकै क्रममा मुत्यु भयो ।

त्यसको दुईदिनपछि आमा ईरीको पनि उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । मृतकका श्रीमान अजय सुनार भने उपचारपछि निको हुनुभयाे ।

पछिल्लो समय जंगली च्याउ खानाले दैनिक रूपमा मानिसकाे अकालमा ज्यान जाने गरेकाे छ । बिषालु च्याउ नचिन्दा मानिसकाे ज्यान जाने गरेकाे प्रहरीले जनाएको छ ।

Previous articleसार्वजनिक यातायात शुल्कमा छुट कार्यान्वयन गर्न अनेरास्ववियुको माग
Next articleट्राफिक व्यवस्थापनका लागि प्रहरीले नागरिकसँग सहकार्य गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here