पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाईंदै

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईंदैछ । देशका सात प्रदेशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा पनि खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले आइतवार खोप कार्यक्रमबारे जानकारी गराएको छ । परिवार कल्याण महाशाखाका संजयकुमार महासेठले पहिलो चरणमा भेरी अस्पतालबाट १ हजार २ सय १५ जना किशोरीलाई खोप लगाइने बताउनुभयो ।

त्यसका लागि भेरीमा २ हजार ४ सय ३० भाइल खोप आएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी.खोप दिने योजना भएपनि खोप अभावका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको महासेठले जानकारी दिनुभयो ।

भदौ २७ गतेदेखि ३० गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ भने २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाइने जनाइएको छ ।

एच.पि.भी.खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याँकअनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ ।

Previous articleबाँकेको खजुरामा महाआरती शुरु (फोटोफिचर)
Next articleठुलो परिमाणको खैरो हिरोइनसहित नेपालगञ्जमा एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here