
नेपालगन्ज । नेपालगञ्जमा शान्ति सदभाव कायम राख्न बिभिन्न क्षेत्रले आग्रह गरेका छन् । मुस्लिम समुदायको उग्र प्रदर्शनपछि सदभाव र्यालीलगत्तै भएको ओमकार परिवारको शान्तिपूर्ण र्यालीका क्रममा सदभाव खलबलिने कार्य भएकाले यहाँ शान्ति सदभाव कायम राख्न बिभिन्न क्षेत्रले आग्रह गरेका हुन ।
बिभिन्न क्षेत्रले नेपालगञ्जमा सदियौंदेखि कायम रहेको सदभावमा खलल पुर्याउने जोकोहीलाई पक्राउ गरि कानूनी कारवाही गर्न समेत माग गरिएको छ । यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा देखिएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष टंकबहादुर धामीले मंगलबार विज्ञप्ती जारी गर्दै नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न र सम्भावित धार्मिक र साम्प्रदायिक दंगा भड्किने खतराबाट जोगिन सबै समुदायसँग अपिल गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपालगन्जमा हिन्दु–मुस्लिम समुदायबीचको धार्मिक र साम्प्रदायिक दंगा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न संघ सम्बद्ध सबै समुदायसँग अपिल गर्दछ । साथै एकापसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दछ ।’
संघले कुनै पनि बाहानामा धर्म र आस्थाका नाममा एक अर्काप्रति घृणा र द्वेष फैलाउने तथा फरक धर्म र सम्प्रदायप्रति चोट पुग्ने गतिविधिहरु नगर्न र संयमता अपनाउन पनि आग्रह गरेको छ ।
सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबै नागरिकको कर्तव्य भएको बताउँदै यस्तो संवेदनशील घडीमा धार्मिक सद्भाव विथोलेर जनतालाई भड्काउन र लडाउन अपराधिक तत्व सक्रिय हुन्छन् । त्यस्ता प्रवृत्तिबाट जोगिन पनि नगरवासीमा संयमताको खाँचो रहेको उल्लेख छ ।
संघले स्थानीय प्रहरी प्रशासनलाई पनि नागरिकको शान्ति, सुरक्षा र जिउज्यानको रक्षाका लागि आग्रह गरेको छ ।





