
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्जमा देखिएको विषम अवस्थामा धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका समान हुने भन्दै संयमित हुन अपिल गरेको छ ।
महासंघ बाँकेले बुधबार एक विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहितामा उल्लेख भएको,-‘विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’ भन्ने बिषयलाई ध्यान दिन अपिल गरेको हो ।
महासंघ बाँकेका सचिव कमल डाँगीले जारी गर्नुभएको अपिलमा कोही पनि पत्रकारले समस्यालाई बढावा दिने खालको समाचार सम्प्रेषण गर्न नहुने कुरालाई सबै पत्रकारले ध्यान दिन समेत महासंघले आग्रह गरिएको छ ।
महासंघले जारी गरेको विज्ञप्ति
बहुसांस्कृतिक एवं बहुधार्मिक विविधता नेपालगन्जको बिशेषता हो । जनस्तरकै पहलबाट अनेकतामा पनि एकता कायम हुँदै आएको छ । यहाँको सद्भाव,आपसी भाईचारा अरुका लागि पनि उदाहरण बनेको छ । तर पछिल्लो पटक उत्पन्न संवेदनशिल परिस्थितीले नेपालगन्जका हरेक नागरिकमा संशय पैदा भएको छ भने मनमा चोट पुगेको छ ।
मनका चोटमा मल्हम लगाई नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने दायित्व र जिम्मेवारी फेरी पनि अरु कसैको नभई स्वंय नेपालगन्जबासीकै हो । यसर्थ नेपाल पत्रकार महासंघ बाँके शाखा सम्पुर्ण जातजाती, भाषाभाषी, धर्म, सम्प्रदायमा आपसी एकताका लागि अग्रसर हुन हार्दिक अपील गर्दछ ।
नेपालगन्जमा उत्पन्न संवेदनशिल परिस्थितीकाबीच पनि यहाँका संचारकर्मीहरुले आमनागरिकलाई सुसूचित गराउने कार्य गरिरहनुभएको छ । संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन/प्रसारण गर्नु पत्रकारको कर्तव्य हो ।
हतारो नगरी आधिकारिक निकायबाट अधिकारिक व्यक्तिले दिएको सूचनालाई मात्र प्राथामिकता दिई समाचार सम्प्रेशन गरौं । पत्रकार आचारसंहितामा उल्लेख भएको,–‘विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’ भन्ने बिषयलाई ध्यान दिन अनुरोध छ ।
आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ । देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन अनुरोध छ ।
नेपालगन्जमा सिर्जना भएको तनाव फेरी हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेशण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी संचारक्षेत्रको हो । यसरी आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेशन गर्ने क्रममा कँहीकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गर्दछौं ।
महासंघ पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउँदछ । तसर्थ नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं ।





