
नेपालगन्ज । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनमा बाँकेका निजामती सेवा क्षेत्रमा क्रियाशिल राष्ट्रियस्तरका ट्रेड युनियनहरुले एक्यवद्धता जनाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष देवीलाल चाैलागाई, नेपाल निजामती कर्मचारी युनियन, बाँकेेका अध्यक्ष उद्वव प्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) बाँकेका अध्यक्ष हारे चन्द पाण्डे र एकिकृत सरकारी कर्मचारी संगठन नेपाल बाँकेेका अध्यक्ष रामसिंह ठकुरीले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीहरूकाे आन्दोलनमा एक्यवद्धता जनाउनुभएकाे हाे ।
जारी विज्ञप्तिमा राजनीतिक रुपमा मुलुक संघीयतामा प्रवेश गरेको लामो समयसम्म पनि मुलुकी प्रशासन संचालन गर्ने संघीय निजामती सेवा ऐन हालसम्म पनि जारी हुन नसक्नु र त्यसका लागि स्वयं कर्मचारीहरुनै आन्दोलित हुनुपर्ने दुर्भाग्यपुर्ण अवस्था सृजना भएको उल्लेख छ ।
मन्त्रीपरिषदबाट मिति २०८० भदौ २९ गते पारित भएको भनिएको संघीय निजामती बिधेयक हालसम्म पनि संसदमा प्रस्तुत हुन नसकिरहेको र प्रस्तावित विधेयकले स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको माग सम्बोधन नगरेको विषयमा स्थानीय तहका कर्मचारीहरु विगत केहि समयदेखि देशव्यापीरुपमा आन्दोलित रहेकाले बिभिन्न संगठनहरूले आफुुहरूकाे साथ रहेकाे जनाएका हुन ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबाट जारी २० बुँदे मागपत्र सहित ‘प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार: तिनै तहका कर्मचारीको समान अधिकार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला सहित ७५३ वटै स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुले जारी राखेको पेशागत आन्दोलन प्रति बाँके जिल्ला स्थित निजामती सेवाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरका ट्रेड युनियनहरु पुन एक्यवद्धता प्रकट गर्दै स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिबाट जारी २० बुँदे मागपत्र सम्बोधन गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।
साथै माग सम्बोधनका लागि आवश्यक पहल कदमी लिन निजामती सेवाको क्षेत्रमा कृयाशिल सबै राष्ट्रियस्तरका केन्द्रीय ट्रेड युनियनहरुलाई हार्दिक अपिल गरिएको छ ।





