सम्भावित जोखिम न्युनिकरणका लागि एक दिने अभिमुखिकरण

नेपालगञ्ज । बर्दियाको गुलरिया नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको सम्भावित जोखिम न्यूनिकरणका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

माइती नेपाल बर्दियाको आयोजना, फिरी अ गर्लको सहयोगमा गुलरिया र मधुवन नगरपालिकाको समन्वयमा असोज २३ र २४ गते एक एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गुलरियाकी नगर उपप्रमुख साबित्रा गौतम र मधुवनकी नगर उपप्रमुख अनिता चौधरीको उपस्थिति रहेको थियो । मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध एवं मानवीय समवेदनासँग जोडिएको बिषय भएको कुरामा सहमत भई मानव बेचबिखन तथा ओसारपसारको बिरुद्धमा सबै लाग्नुपर्ने कुरामा जोड दिइएको छ ।

जोखिम न्यूनिकरणका लागि समुदायस्तरमा समेत जनचेतनामूलक अभियान संचालन गर्ने, जोखिमपुर्ण अवस्थामा रहेका बालबालिका तथा महिला किशोरीहरुलाई सचेतना कार्यक्रमहरु संञ्चालन गर्ने गुलरियाकी नगर उपप्रमुख गौतमले बतानुभयो ।

उहाँले माइती नेपालले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता खालका कार्यक्रमले आफ्नो मन छोएको भन्दै मानवले मानवलाई नै बेच्नु सबैभन्दा ठुलो अपराध भएको बताउनुभयो । दुबै नगर उपप्रमुखले मानव बेचबिखनबिरुद्धका सन्देशलूलक एवं यसबिरुद्ध क्रियासिलताको प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमले आफुहरुलाई सचेत रहन प्रेरणा मिलेको, आफुहरुले सिकेका र बुझेका कुराहरु साथीहरु, घर परिवार र समाजमा बताउने किशोरीहरुले बताए । गुलरिया वडा नं-९ की सोनिया थापा मगरले मानव बेचबिखन आफुले सुनेको, यसरी बेचबिखन हुन्छ र बेचिएपछि यति धेरै मानसिक र शारीरीक यातनाहरु सहनुपर्ने कुरा बल्ल बुझेको भन्दै यस्तो अपराध गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

भावबिह्वल हुनुभएकी थापाले यस्ता अपराधीलाई फाँसीको सजाय पनि कम हुने बताउनुभयो । कार्यक्रममा सहभागिहरुलाई उक्त बिषयसँग सम्बन्धित भिडियो देखाइएको थियो । बालबालिकाहरुमाथि यौन शोषण र श्रमशोषणको घट्नाहरुमा बिभिन्न्न किसिमका चुनौतीहरु आएको हुनाले यस्तो कार्यक्रमहरु गर्नुपरेको माइती नेपालले जनाएको छ ।

सहभागी किशोरीहरुलाई संस्थाले गरेको काम र मानव बेचबिखनको वर्तमान अवस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, बेचबिखनका प्रयोजन र कानूनी ब्यवस्थाको बारेमा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गुलरियाका १२ वटै वडाबाट २७ जना र मधुवनको ९ वटै वडाबाट २३ जना गरी ५० जना किशोरीहरुको उपस्थिती रहेको थियो ।

Previous articleबाँकेमा चोरीका घट्ना बढ्यो, कम्दीका दुई स्थानमा चोरी
Next articleबाँकेका प्रहरी प्रमुख एसपी राठौरको सरुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here