
नेपालगञ्ज । प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको सरुवा गरेको छ । कार्यालयले बाँकेको प्रहरी प्रमुख राठौरसहित चार जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको हो ।
जिल्ला इन्चार्ज रहेका २ जना एसपीलाई हटाएर अन्यलाई खटाएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा सुवास चन्द्र बोहरा र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाँकेमा कार्यरत राठौरलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा फिर्ता बोलाइएको छ भने सर्लाहीमा कार्यरत सुवेदीको पनि प्रधान कार्यालयमा काज भएको छ ।
उहाँहरुको १ बर्ष नपुग्दै सरुवा भएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ गतेबाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो ।
दुई समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा शुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो । सर्लाहीमा पनि दुई समुदायबिचमा विवाद भएको थियो ।
नेपालगञ्जमा भएको दंगाकै बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी विपिन अचार्यको पनि सरुवा गरिएको छ । आचार्यलाई गृह मन्त्रालयमा तानिएको छ ।
समुदायमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।





