
काठमाण्डौं । एसिसी यू १९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो । बिहीबार मलेसियामा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अलआउट भयो ।
साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोड्नुभयो । साउदीका अरु ब्याटर नेपाली बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन जोड्न असफल रहे ।
बलिङमा नेपालका दीपेश कडेँलले ६ विकेट लिनुभयो । उहाँले ९.१ ओभरमा १८ रन खर्चिनुभयो । आकाश चन्दले २ विकेट लिन सफल हुनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन जोड्यो ।
नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गर्नुभयो । उहाँले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन जोड्नुभयो । आकाश त्रिपाठीले ८९ रन जोड्नुभयो । उहाँले ९८ बलमा ६ चौका र २ छक्का हिर्काउनुभयो । बलिङमा साउदीका अहमद राजा, मोहमद अमहद र अब्दुल्लाह सिराले २(२ विकेट लिनुभयो ।





