
बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिनु भएको छ । दसैँ, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा शनिबार शुभकामना दिँदै उहाँले संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि सबै नेपालीहरुलाई एकताबद्ध हुन अपिल गर्नु भएको छ ।
अध्यक्ष शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको बताउनुभयो । सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीको प्रतीकका रुपमा रहेको उल्लेख गर्दै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्न हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’ अध्यक्ष शाहले ‘नागरिकको अपेक्षा तराई (पहाड) हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यी महान पर्वहरूले आर्शीवाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु।’





