
शिवराज साहू, नेपालगञ्ज । बडादशैं अर्थात नवरात्रको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको आठौं रुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।
आजको दिन देशका विभिन्न स्थानमा रहको देवी भगवती शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
बाँकै जिल्लाको प्रमुख शक्तिपीठ नेपालगञ्ज उपमहानगरपालिकाको माता बागेश्वरी मन्दिर, राप्ती सोनारी गाउँपालिकामा रहेको भुवरभवानी लगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ ।
यसैगरी, जिल्ला बाहिरबाट र देश, विदेशबाट पनि श्रद्धालुहरु माता बागेश्वरी नगरि नेपालगञ्ज उपमहानगरपालिकामा रहेको माता बागेश्वरी मन्दिरमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्नको लागि आउँने गरेका छन् ।
शक्तिपीठ बागेश्वरीमा बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ ।
यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीको शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ ।
आज राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।





