पत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने

नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ ।

कृपा अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक जटिल प्रकृतिको शल्यक्रिया गर्ने मेसिन भित्र्याएपछि नेपालगञ्जमै अब त्यस्तो प्रकृतिको उपचार शुरु गरिएको हो ।

अस्पतालले शल्यक्रियाका लागि इटलीबाट उक्त मेसिन ल्याएको जनाएको छ । यो मेसिन पश्चिम नेपालमै पहिलो हो । यसले प्रोस्टेट, ब्लड क्यान्सर, पिसाब नलीको क्यान्सर, सानो टयूमरको उपचार, मृगौला नलीभित्र, पिसाब नलीभित्रका जटिल प्रकृतिका पत्थरीहरू सहजै हटाउन सकिनेछ ।

घट्स्थापनादेखि मेसिनको प्रयोगबाट शल्यक्रिया शुरु गरिएको अस्पतालका निर्देशक डा.प्रविन कुमार गुप्ताले जानकारी दिनुभयो । यो मेसिन भित्रिएपछि अब किड्नीलाई प्वाल नै नगरी शल्यक्रिया गर्न सकिनेछ ।

शुशिल कोईराला प्रखर अस्पताल खजुराका सर्जरी बिभाग प्रमुख समेत रहनुभएका डा.गुप्ताले आरआई केएस भनिने यस प्रविधिबाट शरीरमा रहेको पत्थरीलाई सहजरुपमा धुलो बनाएर निकाल्न सकिने बताउनुभयो ।

डा.गुप्ताका अनुसार अब पश्चिम नेपालका बिरामीलाई काठमाण्डौं धाउन पर्दैन । ‘काठमाण्डौं भन्दा कम खर्चमा त्यहाँका अस्पतालमा हुने शल्यक्रिया नेपालगञ्जमै दिन शुरु गरिसकेका छौं,’ डा.गुप्ताले भन्नुभयो, ‘जब आफ्नै घर नजिक काठमाण्डौंका ठुला अस्पतालको सेवा त्यहाँको भन्दा कम खर्चमा पाइन्छ भने राजधानी धाउनुपर्ने आवश्यकता नै छैन ।’

काठमाण्डौंभन्दा करिब ६० प्रतिशत कम खर्चमा यो सुविधा हामीले उपलब्ध गराइरहेको डा.गुप्ताले जानकारी दिनुभयो । हाल यो प्रविधि काठमाण्डौंकाे बीर अस्पताल लगायत चर्चित अस्पतालहरुमा मात्र प्रयोगमा रहेको छ ।

स्थानीय चिकित्सक भएकाले कृपा अस्पतालमा ३६५ दिन २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध रहेको छ । अस्पतालमा हाडजोर्नी, नसारोग, स्त्रीरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।

Previous articleआज महाअष्टमी मनाइँदै
Next articleबर्दियाको गेरुवामा पहिलो पटक रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here