काेहलपुरका डिएसपी तिवारीमाथि चक्कु प्रहार

नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीमाथि चक्कु प्रहार भएकाे छ ।

कोहलपुर नगरपालिका वडा नं-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिनुभएका तिवारीमाथि थापाले चक्कु हानेेका हुन् ।

चक्कु लागेपछि तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयाे । प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए ।

सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा तिवारीलाई लागेको हाे । चक्कु प्रहारबाट प्रहरी नायब उपरीक्षक तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयाे ।

तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।

बिहीवार राती करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाईलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताउनुभयाे ।

Previous articleकिभा फाउन्डेसनद्वारा चार हजार बढीलाई ‘प्रसाद’ बितरण
Next articleबाँकेमा अख्तियारकाे कर्मचारी भन्दै ठग्ने एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here