१७६ पटक रक्तदान गर्ने रक्त सम्राट कर्माचार्यलाई बाँकेमा सम्मान

नेपालगञ्ज । नेपाल सरकारद्वारा रक्त सम्राट पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यलाई नेपालगञ्जमा सम्मान गरिएको छ ।

नेपालकै इतिहासमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्न बाँकेको राप्ती सोनारी गाउँपालिका पुग्नुभएका रक्त सम्राट एवं समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई समाजको बाँके शाखाले शुक्रवार सम्मान गरेको हो ।

आजै काठमाडौंबाट रक्तदान कार्यक्रममा सहभागी हुन आउनु भएका रक्त सम्राट एवं अध्यक्ष कर्माचार्यले राप्ती सोनारी गाउँपालिका वडा नं-६ मा आयोजित वृहद् रक्तदान कार्यक्रममा १ सय ७६ औं रक्तदान गर्नुभएको छ ।

व्यक्तिगत खर्चमा नेपालगन्ज आएर उहाँले रक्तदान गर्नुभएको हो । यसअघि पनि बर्दिया, मुगु, टोल्पा लगायत जिल्ला जिल्लामा आयोजित रक्तदान कार्यक्रमहरुमा पुगेर रक्तदान गर्दै आउनु भएको छ ।रक्तदान अभियानलाई व्यापक बनाउन अध्यक्ष कर्माचार्यले खेलेको भूमिका प्रेरणादायी रहेको भन्दै समाज बाँके शाखाले दोसल्ला एवं सम्मानपत्रले सम्मानित गरेको छ । सो क्रममा बोल्दै उहाँले रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै खेर जाने रगतलाई समयमा अरुको ज्यान जोगाउन खर्च गर्नुपर्ने उहाँको जोड छ । स्वस्थ्य व्यक्तिले आफ्नो १८ औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यलाई शुरु गर्न पनि उहाँले आह्वान गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द वाग्ले र प्रवास शाक्यलाई समेत खादाले स्वागत गरिएको थियो ।

समाजको बाँके शाखा अध्यक्ष दिला शाहले नेपालमा स्वयंसेवीरुपमा रक्तदान अभियानलाई निरन्तर संचालन गर्न प्रेरणा प्रदान गरिरहनुभएका रक्त सम्राट कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँकै प्रेरणाले आफुहरुलाई रक्तदान जस्तो महान अभियानमा लाग्न उत्प्रेरित गरेको उहाँले बताउनु भयो ।

समाजका सचिव भिष्म लोधले सहजीकरण गरेको सो सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार एवं समाज बाँकेका सल्लाहकार पूर्णलाल चुके, पत्रकार एवं सल्लाहकारद्वय पवन जायसवाल र शंकर प्रसाद खनाल, समाज बाँके शाखाका उपाध्यक्ष मन बहादुर केसी र कोषाध्यक्ष मनमोहन वर्मा लगायतको उपस्थिति रहेको थियो ।

Previous articleराप्ती सोनारीमा बृहत रक्तादन, ९६ जना सहभागि
Next articleयस्तो रहेको छ कार्तिक ११ गते लाग्ने चन्द्र ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here