
काठमाडौं । कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन् । विश्वका विभिन्न मुलुकहरूबाट देखिने यो ग्रहण नेपालबाट पनि देखिने छ ।
आश्विन शुक्ल पूर्णिमाको साथमा कार्तिक महिनासमेत परेको हुनाले कार्तिकको कोजाग्रत पूर्णिमाको विशेषतासँग यो ग्रहणको पनि विशेषता जोडिने भएकोले यस प्रकारको ग्रहणको छुट्टै महत्त्व हुने ज्यो.दीपक सुवेदीको भनाई छ । फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा एउटा भिडियोमार्फत सुवेदीले सो कुरा बताउनु भएको हो ।
सो ग्रहण ११ गते कट्ने राति १२ गते हुने बिहान तदनुसार २०२३ अक्टोबरको २८ तारिख कटेर २९ तारिख लाग्दै गर्दा राति ०१ बजे १९ मिनटदेखि ०१ बजेर ३८ मिनटसम्म नेपाली आकाशमा देख्न सकिने ज्यो. सुवेदीले बताउनुभएको छ ।
ग्रहणको समयमा के गर्न हुने र के गर्न नहुने भन्ने लगायतका विभिन्न विषयका बारेमा पनि ज्योे सुवेदीले सो भिडियोमा बताउनुभएको छ । ग्रहणको समय संक्रमित हुने र सावधानीपूर्वक रहनुपर्ने कुरामा आधुनिक वैज्ञानिकहरू पनि सहमत छन् ।
त्यसमाथि हाम्रो समाज धार्मिक आस्थावान समेत भएकोले ग्रहणलाई धार्मिक कोणबाट पनि मनन् गरिने गरेको छ । ग्रहणको बारेमा मान्छेहरूले नबुझेर अन्धविश्वासी ढङ्गले पनि यसलाई लिने गर्छन् । खासमा ज्योतिष शास्त्र, धार्मिक शास्त्र र आधुनिक विज्ञानले ग्रहणको बारेमा बताएका केही कुराहरू मिल्न पनि जान्छन् ।
ग्रहणको बारेमा ज्योतिष विज्ञान के भन्छ, ज्योतिषशास्त्रीहरू के भन्छन् र किन भन्छन् भन्ने बारेमा पनि आम नागरिकले बुझ्न आवश्यक छ । यस पटकको खण्डग्रास चन्द्रग्रहणको बारेमा ज्योतिषी दीपक सुवेदीले बताएको कुरा भिडियोमा जस्ताको तस्तै हेर्नसक्नु हुनेछ ।





