२१ हजार ग्राहकको लाइन काटेर ५० करोड बक्यौता असुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपियाँ असुल गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असूलउपर गर्नुपर्ने विद्युत महशुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।

विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औं दिनदेखि ३० औं दिनसम्म ५ प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

उहाँले तिहारपछि लाइन काट्ने कामलाई अझै तिब्रताका साथ अगाडि बढाइने भएकाले समयमै महशुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरुलाई आग्रह गर्नुभयो ।

Previous articleकांग्रेस क्षेत्र न-२ ले गर्याे भूकम्प पीडित बिरामी तथा कुरूवाका लागि एक दिनकाे खाना व्यवस्था
Next articleआर्मी बन्यो मुख्यमन्त्री कोहलपुर गोल्डकपको बिजेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here