भुकम्प पीडितका लागि नरैनापुरले पठायो राहत

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुई लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु भएर गएको भूकम्पले प्रभावित क्षेत्रहरुका लागि भनेर बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत बुधबार सहायता सामाग्री पठाएको हो ।

नरैनापुर वडा नं ४ का वडा अध्यक्ष मनोज शर्मा र वडा नं ५ का वडा अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्रीसहितको पत्र बुधबार हस्तान्त्रण गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

सहायता सामाग्रीमा चामल, दाल, नून, रहेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समवेदना प्रकट गर्नुभएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

पालिकाले घाइतेहरुको स्वास्थ्य उपचार, उद्धार तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष शाहले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गर्नुभयो । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Previous articleआर्थिक वर्ष २०७९/८० मा १ सय २६ जना कुष्ठरोगी पहिचान
Next articleनेपालगञ्जका २३ वटै वडा डिजिटलाइज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here