नेपालगञ्जका २३ वटै वडा डिजिटलाइज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो ।

सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आज (विहिबार) एक कार्यक्रमका बीच घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गर्नुभएको हो ।

जिआइजेडको सहयोगमा वडाहरुबाट प्रवाह हुने सेवालाई डिजिटलाइज गरिएको हो । सुरुमा नेपालगञ्जका चार वटा वडामा मात्र पाइलटिङको रुपमा यी सेवा शुरु गरिएको थियो ।

सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर घनश्याम बर्माका अनुसार वडा नम्बर १, ४, १२ र २० मा सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको थियो ।

यी वडाहरुमा यी सेवा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरिएको हो । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले डिजिटलाइजेशनपछि अब हरेक वडामा जनताले छिटोछरितो र सहजरुपमा सेवा पाउने बताउनुभयो ।

उहाँले यी सेवा प्रवाहका लागि दक्षता अभिबृद्धि र सूचना प्रविधिसंग अभ्यस्त हुनुपर्ने आवश्यकता औंल्याउँदै जनशक्तिको दक्षता अभिबृद्धिका लागि बेलाबेलामा तालिम तथा अभिमुखीकरण आयोजना गर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकालाई ‘पेपरलेस’ बनाउने अभियान अन्तर्गत वडाहरुको डिजिटलाइजेशन भएको बताउँदै उहाँले प्रविधिको क्षेत्रमा यो अर्को फड्को भएको उल्लेख गर्नुभयो ।

उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा डिजिटलाइज भएपछि आमनागरिकका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयको बचतसंगै सेवा प्रवाहमा दुरुस्तता आउने बताउनुभयो ।

जिआइजेडका नेपालगञ्ज प्रमुख निराजन सुवेदीले चार वटा वडामा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरेर नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर-४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर-२० का वडा अध्यक्ष कौशलकुमार धोबीले आ-आफ्नो वडाको अनुभव सुनाउनुभएको थियो ।

डिजिटल साक्षरता भएका नागरिकका लागि यी सेवा अत्यन्त उपयोगी भएपनि डिजिटल निरक्षता भएकाहरुको पहुँचमा पुर्याउन चुनौतिपूर्ण रहेको उहाँहरुको अनुभव छ । कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव लगायतको उपस्थिति रहेको थियोे ।

डिजिटल सेवा शुभारम्भ गर्न जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडाका वडा सचिव लगायत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै २३ वटै वडामा इन्टरनेटको पहुँच, अनलाइन सिफारिस प्रणाली, फ्रि-वाइफाई, सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण शुरु गरेर प्रविधिमा आफूलाई अपग्रेड गराउँदै लगेको सूचना प्रविधि इन्जिनियर बर्माले बताउनुभयो ।

Previous articleभुकम्प पीडितका लागि नरैनापुरले पठायो राहत
Next articleनरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here