नेपालगञ्ज म्याराथन र कन्क्लेभमा मिस नेपाल श्रृच्छा सहभागी हुने

नेपालगञ्ज । मिस नेपाल वर्ल्ड-२०२३ श्रृच्छा प्रधान ९औं धारा नेपालगञ्ज म्याराथनमा सहभागी हुने तय भएको छ । नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन र नेपालगञ्ज कन्क्लेभ-२०२३ मा वक्ताका रुपमा उहाँ सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उहाँको पहिलो नेपालगञ्ज भ्रमण हुनेछ ।

नेपालगञ्ज कन्क्लेभका विविध ६ वटा सत्रमध्ये मिस नेपाल श्रृच्छाले ‘आकाश धर्ती बराबरी’ सत्रमा प्यानलिस्टका रुपमा महिला सशक्तीकरणका बारेमा आफ्ना अनुभव साझा गर्नुहुनेछ । ‘पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्ने अवसर पाउँदा निकै उत्साहित छु’ उहाँले भन्नुभयो-‘देशमा शान्ति होस्, समृद्धि बढोस्, एकताको सुत्रमा बाँधियोस् ।’ म्याराथनमा सहभागी हुने कुराले फरक अनुभुति भएको उल्लेख गर्दै उहाँले आफू उत्साहित भएको बताउनुभयो । नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्ससँग मिस नेपाल आयोजक द हिडेन ट्रेजरले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, अनलाइन मिडिया पार्टनर शिलापत्र, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगञ्ज, सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहने छन् ।

Previous articleकीर्तिमानी पाइलट भावना नेपालगञ्जमा दौडसँगै मन्थन गर्ने
Next articleनेपालगञ्जको घरवारीटोलस्थित सौगात इलेक्ट्रोनिक पसलमा आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here