
नेपालगञ्ज । नेपालगञ्जको घरवारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । तिहारको दोस्रो दिन साँझ राती ९ बजेको समयमा घरवारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेको पुरै सामान खरानी भएका छन् । पसलमा बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीलगत्तै पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रको सहायतमा आगलागी नियन्त्रणमा लिइएको थियो । करिब एक घण्टा आगलागी नियन्त्रणको प्रयास भएको स्थानीयले बताए ।
सुर्खेतरोडमा रहेको नेपाल एयरलाईन्स कार्यालयको अगाडीबाट घरवारीटोल प्रवेश गर्ने क्रममा घरवारीटोल मोडमा रहेको सामुदायिक बिद्यालयको व्यवसायीक भवनमा रहेको सटरमा उक्त इलेक्ट्रोनिक पसल संचालन हुँदै आएको थियो ।
व्यवसायी धुब्र दाहालले संचालन गर्नुभएको पसलमा टेलिभिजन, फ्रिज, कुलर लगायतका इलेक्ट्रोनिक सामानहरु रहेको थियो । घट्नालगत्तै जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालयको टोली पुगेको थियो । आगलागीबाट लाखौं बढीको सामान नष्ट भएको अनुमान गरिएपनि सम्पूर्ण विवरण भने सोमबार संकलन गरिने जनाइएको छ ।







