
नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएको मेयरकप साइकल दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ बुटवलका प्रकाश थापाले जित्नुभएको छ ।
शुक्रबार बिहान नेपालगञ्जमा भएको प्रतियोगितामा थापासंगै महिलातर्फ बाँकेकी रुपा चौधरीले उपाधी हात पार्न सफल हुनुभएको छ । एमटीबी पुरुषतर्फ १३ जना सहभागी प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय हुनुभयो ।
६ जना सहभागी एमटीबी महिलातर्फ नेपालगञ्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय हुन सफल हुनुभयो । त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोद कुमार यादव तृतीय हुनुभयो ।
साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोस्रो र राप्ती सोनारीकै समिता थारु तृतीय हुनुभयो ।
एमटीबी स्पेसलतर्फको विशेष दौडमा नेपालगञ्जका लक्ष्मीनारायण शाह प्रथम, राजिव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईं तृतीय हुनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा विजयी भएकाहरुलाई नगद तथा बिशेष पुरुस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगिताले नेपालगञ्जमा साइकल खेलप्रतिको आकर्षणसंगै साइकल खेलाडी उत्पादनमा टेवा पुगेको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले आशा लिनुभएको छ ।





