
नेपालगञ्ज । नेपालगञ्जमा दाइजो प्रथा बिरुद्ध कार्ययोजना निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा यहाँका बिभिन्न सरोकारवालाहरुले संयुक्तरुपमा दाइजो प्रथा बिरुद्ध कार्ययोजना निर्माण गरेका हुन ।
दाइजो प्रथा बिरुद्ध सबै क्षेत्र, वर्ग, समुदायका अगुवाले दाइजोले ल्याउने अवस्थाका बारेमा समुदायस्तरमा जानकारी प्रदान गर्ने तथा हुन नदिन निरुत्साहित गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले लैंङ्गिक हिंसा हुनु दाइजो प्रथाले निम्त्याएकाले यसको नियन्त्रणका लागि समाजभित्रका प्रत्येक सचेत नागरिकको सक्रियता हुनुपर्ने बताउनुभयो ।
‘समाज जागेको छ, हिंजोको अवस्थाभन्दा अहिले केही सुधार हुँदै गएको छ,’ मेयर बिष्टले भन्नुभयो, ‘कानून कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्छ । कानून सबैमा लागु हुनुपर्छ भन्ने हुन्छ तर आफुमा आएपछि पछि नमान्ने शैलीका कारण चुनौती देखिन्छ ।’
यो समस्यालाई एकैपटक अन्त्य गर्न नसकिने तर निरन्तरको सक्रियताले केही वर्षमा सम्भव हुने मेयर बिष्टको भनाई छ । एकैपल्ट धेरे कानून बनाइन्छ तर नेतृत्व तहलाई स्वंय थाहा नहुने अवस्थाले कार्यान्वयनमा समस्या ल्याएको मेयर बिष्टले उल्लेख गर्नुभयो ।
‘कानून लागु गर्न बनाईन्छ, नेतृत्व तहले समयानुकुल कानून निर्माण गर्नुपर्छ,’ मेयर बिष्टले भन्नुभयो, ‘एक पटक बनाएर सधैका लागि प्रयाप्त हुन सक्दैन ।’ साथै यस्ता घट्नालाई नियन्त्रणका लागि समुदायमा हुने अन्य घटना सम्बन्धित ठाउँमा पुर्याउन जरुरी रहेको बताउनुभयो ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले समाजलाई शान्तिपूर्ण बनाउन तथा कुनैपनि व्यक्तिमा कुनै प्रकारको बिभेद हुन नदिनका लागि प्रहरीले जिरो टोलेरेन्स नीति लिएको बताउनुभयो ।
उहाँले समुदाय अनुसार फरक फरक चलन रहेको भएपनि दाइजोले नकारात्मक अवस्था निर्माण हुने हुँदा समाजका व्यक्तिसंगै घरपरिवार स्वंय पनि यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघ तथा कशौधन बैश्य समाज बाँकेका पुर्व अध्यक्ष नन्दलाल बैश्यले यस्तो कुप्रथाबिरुद्ध सबै अगुवाको सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपालगञ्जका उपमेयर तथा कार्यक्रमका अध्यक्ष कमरुद्दिन राईले मानिसको सोंचका कारण यो समस्याको अन्त्य हुन नसकेको बताउनुभयो ।
ठुल-ठुला कानूनको कुरा गर्ने गरिएको भएता पनि बाध्यताको कुरा कसैले गर्न नसकेको भन्दै उहाँले समाजमा रहेको यो परिस्थितिलाई समेत ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी लगायतले बोल्नुभएको कार्यक्रममा मानवअधिकारकर्मी कमला पन्तले लैंङ्गिक हिंसा तथा दाइजो प्रथाका बारेमा प्रस्तुती राख्नुभएको थियो भने नेपालमा बिद्यमान कानूनका बारेमा अधिवक्ता बिश्वजीत तिवारीले जानकारी दिनुभएको थियो ।
लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा यो समस्याबारे सरोकारवालाबीच कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी अधिकृत छैठाैं आशा शाहीले जानकारी दिनुभयो ।





