
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६ वटा रुख काटेपछि सर्वत्र आलोचना भएको हो ।
नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने भएको छ ।
तार व्यबस्थापनका नाममा समन्वय विना नै जथाभावी रुख काटेपछि प्रचलित कानुन बमोजम कडा कारवाहीका लागि नगर प्रमुख विष्टले कानुनी उपचार खोजिने बताउनुभयाे ।
रुख काटिएको खबर पाउनासाथ नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, हरित अभियन्ताहरु, नागरिक समाजका प्रतिनिधि लगायतले त्यस क्षेत्रको अनुगमन गर्दै विद्युत प्राधिकरणको उक्त कामको कडा शब्दमा निन्दा गर्नुभएकाे छ ।
नगर प्रमुख विष्टले नगरमा हरियाली प्रबद्र्धन गर्न हुर्काइएका रुख स्थानीय सरकारसंग समन्वय नै नगरी ठूटै हुने बनाएर काटिनु खेदजनक भएको बताउनुभयाे ।
“सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै तार व्यवस्थापनका नाममा एक्कासी रुख काट्ने कुराको जति नै निन्दा गरे पनि कम हुन्छ, यो हर्कत विरुद्ध हामी प्रचलित कानुन बमोजिम कारवाहीका लागि सिफारिस गर्छौं,” उहाँले भन्नुभयाे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले न्यूनतम विवेक पनि नभएको एउटा व्यक्तिले गरेको काम जस्तो देखिएको भन्दै हरियाली प्रबद्र्धन गर्ने रुख तहसनहस हुने गरी काटिनु राम्रो नभएको बताउनुभयाे । उहाँले प्रशासनसंग पनि कुनै समन्वय नगरिएको बताउनुभयाे ।
नेपालगञ्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् ।





