
राप्तीसोनारी । नवविवाहित दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-१ बाघखोरस्थित ज्ञान पूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
मंसिर २९ गते विवाह बन्धनमा बाँधिनुभएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिनुभयो ।
माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ भने कोमल पूर्व शिक्षिका हुनुहुन्छ । उहाँहरुले विद्यार्थीहरुलाई कपि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।
एकजना विद्यार्थीलाई ६/६ वटा कपि, कलम र पेन्सीलका दरले ५० जना विद्यार्थीलाई उक्त सामाग्री सहयोग प्राप्त भएको खड्काको भनाइ छ । त्यसैगरी विद्यालयलाई फुटवल र साउण्ड सिस्टम एकएक थान सहयोग गरिएको रावतले बताउनुभयो ।
कक्षा पाँचसम्म पढाइ हुने ज्ञान पूर्णोदय प्राविमा ५० जना विद्यार्थी छन् । उक्त विद्यालयमा निम्न आयस्तर भएका बालबालिकाहरु अध्ययन गर्छन् । विपन्न तथा गरिव समुदायका बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यका साथ शैक्षिक सामाग्री सहयोग गरिएको नवविवाहित दम्पतीले बताए ।
शैक्षिक सामाग्री प्रदान कार्यक्रममा सहभागि वडा अध्यक्ष यमबहादुर खड्काले नवविवाहित दम्पतीबाट बालबालिकाको शिक्षाका लागि गरिएको सहयोग अनुकरणीय कार्य भएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी पालिकाका शिक्षा विज्ञ गोरख हमालले विहेवारीपछि घुमघाम र रमाइलोका नाममा खर्च गर्नुभन्दा सामाजिक कार्यमा लगानी गर्नु स्रहानीय कार्य भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरी विकले विपन्न र गरिव बालबालिकाका लागि प्राप्त सहयोगले उनीहरुलाई ठूलो राहात मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।





