
नेपालगञ्ज् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा ‘लु’ प्रतिकार्य परियोजनाको बारेमा सरोकारवालासंग परिचयात्मक कार्यक्रम गरेको छ ।
नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगञ्ज शहरलाई केन्द्रीत गरी सन् २०२१ देखि अमेरिकन रेडक्रसको सहकार्यमा तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रम संचालन भइरहेको छ ।
कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले यहाँ तातो हावाको प्रभाव कम गर्न योजना निर्माण गरि कार्यान्वयन चरणमा रहेकोले सरोकारवालासँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले प्राथमिकताका साथ नगरभित्र कुलिङ्ग सेन्टर निर्माण गर्ने कुरा उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका उपनिर्देशक रुद्र अधिकारीले जलवायू परिवर्तनबाट विश्व नै प्रभावित भइरहेको बताउँदै भविष्यमा कस्तो प्रकारको विपद् हुने अनुमान गर्न नसकिने कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा गत वर्ष तातो हावा लु प्रतिकार्य सम्बन्धी भए गरेको कार्यको उपलब्धी र सन् २०२४ मा संचालन गरिने कार्यक्रमको बारेमा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संस्थागत सहकार्यमा जोड दिनुभयो ।





