
नेपालगञ्ज । सिद्धार्थ विद्या सदनले प्रथम किशोर सिंह राठौर यु-१६ कप क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । नेपालगञ्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको खेलमा सिद्धार्थले नेपालगञ्ज मोडेल एकेडेमीलाई ९६ रनले पराजित गरेको छ ।
सुरुआतमा ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा १ सय ६० रन बनाएर अलआउट भएको थियो । सिद्धार्थका लागि आर्यन गुप्ताले २५ रन, सुमित नाँउले २१ रन, रियाजुदिन खानले १९ रन बनाउनुभयो । मोडेलका समिर बस्नेत, अनुप बर्मा र रितेश ठकरीले २-२ विकेट लिनुभयो । मोडेलले ११ ओभरमा ६५ रनमात्र बनाउन सक्यो ।
टोलीका लागि सुमित विष्टले १२ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् । सिद्धार्थका नाँउले ३ विकेट, प्रशान्त तामाङ र रितेश ठकुरीले २-२ विकेट लिनुभयो । खेलमा सिद्धार्थका नाँउ म्यान अफ द म्याचबाट पुरस्कृत हुनुभयो । उहाँलाई बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले पुरस्कृत गर्नुभएको थियो ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।





