नेपालगञ्ज-१२ का तीन बालबालिकालाई छात्रबृत्ति प्रदान

नेपालगञ्ज । नेपालगञ्ज वडा नं-१२ मा रहेका दुई निजी संस्थाले तीन जना बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरेका छन् । नेपालगञ्ज वडा नं-१२ कै तीन बिपन्न बालबालिकालाई संस्थाले अध्ययनका लागि छात्रबृत्ति दिने सम्झौता गरेका छन् ।

नेपालगञ्ज बीपी चोकमा रहेको सुनाखरी रेष्टुरेन्ट प्रालि र मुक्तिपुर बाटोमा रहेको मानसरोवर ट्रेड एण्ड स्टेशनरी अर्डर सप्लायर्सले स्थानीय बालबालिकालाई छात्रबृत्ति दिने स्थानीय सरकारसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् ।

रेष्टुरेन्टले सामाजिक उत्तरदायित्वको कार्य शुरु गरेको जनाएको छ । रेष्टुरेन्टले दुई जनालाई होटेल म्यानेजमेन्ट पढाईसँगै रोजगारी समेत दिने भएको छ । रेष्टुरेन्टले उनीहरुलाई ४ वर्षसम्म छात्रबृति दिनेछ । उक्त छात्रबृत्ति रकम कक्षा ९ देखि १२ सम्म अध्ययन कार्यमा खर्च गर्ने समेत मापदण्ड तय गरिएको छ । यस्तै सप्लायर्सले एक जना बालिकालाई ४ वर्षसम्म छात्रबृत्ति दिने भएको छ । रेष्टुरेन्टका प्रबन्धक घनश्याम शर्मा र सप्लायर्सका प्रमुख मिना डाँगीले नेपालगञ्ज १२ का वडा अध्यक्ष तरुण बज्राचार्यबीच संयुक्त छात्रबृत्ति सम्झौता गर्नुभएको छ । छात्रबृत्ति स्वरुप रेष्टुरेन्टले वार्षिक एक जनालाई १२ हजारका दरले र सप्लायर्सले ६ हजारको स्टेशनरी तथा कपडा र ६ हजार नगद प्रदान गर्नेछ ।

एक कार्यक्रमकाबीच शुक्रबार वडा नं-१२ को कार्यालयमा विद्यार्थीका अभिभावकलाई अध्ययन गर्ने रकमसहितको चेक समेत प्रदान गरिएको छ । वडाअध्यक्ष बज्राचार्यले दुई वटा निजी संस्थाले आफ्नो वडाको तीन बालबालिकालाई ४ वर्षसम्म छात्रबृत्ति प्रदान गर्ने सम्झौता गरेको बताउनुभयो । उहाँले निजी संस्थाले देखाएको अग्रसरताप्रति आभार व्यक्त गर्दै आवश्यकता भएका अन्यलाई सहयोग गर्न यस्तै अरु संस्थाहरु लाग्न जरुरी भएको बताउनुभयो । वडाभित्र छात्रबृत्ति आवश्यकता भएका बालबालिकाको खोजी तथा छात्रबृत्ति दिने कार्यमा सामाजिक बिकास मञ्च (एस डिएफ) बाँकेले समन्वय सहकार्य गरेको समेत वडा अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

सम्झौता तथा छात्रबृत्ति सहयोग रकमको चेक हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज वडा नं-१२ का अध्यक्षसहित वडा सदस्यहरु, वडा सचिव नेवलाल घर्ति, १२ नम्बर स्वास्थ्य चौकी प्रमुख आरुती चौधरी, सेफ द चिल्ड्रेनकी एवाई फोर परियोजना संयोजक फुलकुमारी चौधरी, मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Previous articleगायक रमेशराज भट्टराईले नचाए महोत्सवका दर्शक
Next articleकोहलपुर-७ आँखा परीक्षण शिविर : १०४ जना सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here