
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं-७ का स्थानीयलाई लक्षित गरेर एक दिने आँखा परीक्षण शिविर संचालन गरिएको छ । शनिबार संचालन भएको शिबिरमार्फत १०४ जना स्थानीयले सेवा लिएका छन् ।
वडा कार्यालयको समन्वयमा संचालन गरिएको शिविरलाई भिजन आँखा अस्पताल नेपालगञ्ज, सुरक्षा मेडिकल हल कोहलपुर, बागेश्वरी अप्टिकल्स फुल्टेक्राको सहयोगमा सदभाव फाउण्डेशन कोहलपुरले आयोजना गरेको थियो ।
स्वस्थ जीवन, समृद्ध समाज भन्ने मुल नाराका साथ सम्पन्न शिबिरमार्फत चस्मा आवशयक भएकालाई छुट दरमा प्रदान गरिएको थियो । साथै सेवाग्राहीलाई निःशुल्क औषधी समेत बितरण गरिएको छ । शिविरमा १५ जना स्थानीयमा मोतिबिन्दुको समस्या देखा परेको छ । १६ जनालाई चस्मा प्रदान गरिएको थियो ।
कार्यक्रममा फाण्डेशनका अध्यक्ष मन्जुल भट्टराईको नेतृत्वमा भएको शिविरमा मोनिका राना, यादव पौडेल लगायत स्वास्थ्यकर्मीले आँखा परीक्षण गर्नुभएको थियो । कार्यक्रममा वडा नं-७ का वडा अध्यक्ष ठग्गा थारु, स्थानीय स्वास्थ्य संस्था प्रमुख सुदन बुढाथोकी लगायतको उपस्थिति रहेको फाण्डेशनका संरक्षक राजवीर बर्नवालले जानकारी दिनुभयो ।
संरक्षक वर्नवालका अनुसार फाण्डेशनले बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्नुपर्ने ध्येयका साथ अघि बढिरहेको बताउनुभयो ।





