कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले लुम्विनी प्रदेश सरकारका शहरी विकास मन्त्री कृष्णा केसीले कोहलपुरको विकास निमित्त नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कोहलपुर नगरपालिकाले आज मन्त्रीको स्वागतमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै उहाँले आफु कोहलपुरबासी भएकाले पनि स्वभाविकरुपमा कोहलपुरको विकास र सम्बृद्धिका लागि पालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

२४ जिल्लाको केन्द्रविन्दु रहेको कोहलपुरको दीर्घकालीनरुपमा प्रभाव पार्ने विकासको खाँचो औल्याएकी उनले त्यसको निमित्त महत्वपूर्ण योजनामा सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो । कोहलपुर विकसित शहरकारुपमा अगाडि बढेकाले अवका योजनाहरु पनि दीर्घकालीनरुपमा प्रभाव पानेृ खालका हुनु पर्नेमा उहाँको जोड थियो ।

‘यो पटक प्रदेश सरकारको बजेट निर्माण भएर कार्यान्वयनको चरण सुरु भइसकेकाले धेरै ठूला योजनाहरु ल्याउन सम्भव छैन उहाँले भन्नुभयो,–‘विवादित क्षेत्रका योजनाहरुको काम रोकिएको छ । त्यसको एक डेढ अर्व मन्त्रालयसँग बाँकी छ । कोहलपुरका निमित्त गर्नैपर्ने महत्वपूर्ण दुई तीन वटा योजनाहरु ल्याउनुहोस् सहकार्य गरौं ।’

कोहलपुर र नेपालगञ्जमा ढल निकासको समस्या विकराल रहेको भन्दै यसको दीर्घकालीन समाधान खोज्ने गरी आफुले काम गर्ने उहाँको भनाइ छ । ‘कोहलपुर र नेपालगञ्जको मुख्य समस्या ढल निकास हो उहाँले भन्नुभयो,–‘यी दुवै पालिकाको ढल निकास एकद्धार प्रणालीबाट रापतीनदीमा खसाल्न सकियो भने कोहलपुर र नेपालगन्जबासीलाई ठूलो राहात मिल्ने छ ।’

ढल व्यवस्थापनका निमित्त ठूलो बजेट आवश्यक पर्ने भएकाले केन्द्रीय सरकार तथा दातृ निकायहरुसँग समन्वय र सहकार्य गरिने पनि उल्लेख गर्नुभयो । उहाँले कोहलपुरको विकास र सम्बृद्धिका लागि अर्को वर्षको बजेटमा पालिकामै आएर भरपुर छलफल गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका २४ जिल्लाको केन्द्रविन्दु भएपनि राजनीतिक पहुँच अभावमा उपेक्षित हुँदै आएको भन्दै दीर्घकालीन योजना ल्याउन मन्त्री केसीसँग आग्रह गर्नुभयो । उहाँले कोहलपुरको सम्बृद्धि प्रदेश सरकारको सफलतासँग समेत जोडिने भएकाले प्रदेशले महत्वका साथ हेर्नुपर्ने बताउनुभयो ।

उहाँले दीर्घकालीन योजनामा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको भन्दै प्रदेश कार्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन मन्त्री केसीको ध्यानाकर्षण गराउनुभयो । ‘स्थानीय तहसँग बाँकेमा रहेका प्रदेश मातहतका कार्यालयसँग समन्वय अभाव छ उहाँले भन्नुभयो,–‘कहाँ काम हुन्छ ? कसरी हुन्छ ? हामीलाई थाहानै हुदैन । तर गुणस्तरहीन भयो भने त्यसको दोष सबै हामीले खेप्नु परेको छ । यो राम्रो भएन । मन्त्री ज्यूले प्रदेश मातहतका कार्यालय र स्थानीय सरकारबीच समन्वय गराउनु प¥यो ।’

प्रदेश मातहतका कार्यालयले आफै योजना बनाउने, अनुगमन पनि आफै गर्ने र बजेट भुक्तानी समेत आफै गर्ने गरेको स्थानीय सरकारको गुनासो छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले विकास निर्माणका योजनामा सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सहजीकरण गरेको उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । केसी बाँके क्षेत्र नं.१ (क)बाट प्रदेश सदभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Previous articleराष्ट्रिय टोपी दिवस : नेपालगञ्जमा आवश्यकता र महत्वमाथि चर्चा
Next articleराप्तीसोनारीमा सिकलसेल र थालेसेमिया रोग पहिचान (स्क्रिनिङ) शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here