
नेपालगञ्ज । बाँकेमा यही फागुन १३ देखि संचालन हुने दादुरा-रुबेला खोप अभियानबारे जिल्लाका जनप्रतिनिधि तथा संचारकर्मीबीच छलफल गरिएको छ ।
दादुरा-रुबेला खोप अभियान सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग शुक्रबार नेपालगञ्जमा अन्तरक्रिया तथा खोप अभियानको तयारीबारे छलफल गरिएको छ ।
जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीले अभियानको सफलताको शुभकामना दिँदै प्रभावकारी बनाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
उहाँले लक्षित वर्गका कोही पनि खोपबाट बन्चित हुन नहुने भन्दै सबै स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने र त्यसका अनुगमन पनि गर्न जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
बाँकेमा यस वर्ष १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकामा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा-रुबेला खोप दिने लक्ष्य छ ।
त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयको छ ।
९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ । त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुनेछन् ।
त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ७ गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा-रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।





