
नेपालगञ्ज । पछिल्लो समय मृर्गौला रोगको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
फेरिदो जीवनशैली, खानपिन लगायतका कारणले मृर्गौलामा समस्या हुने क्रम अस्वभाविक रुपमा बढ्दै गएको भन्दै चिकित्सकहरुले समयमै सावधानी अपनाउन सुझाएका हुन् ।
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मृर्गौला रोग विशेष डा.सौरभ हमालले नेपालमा अहिले मृत्यु हुने कारण मध्य मृर्गौला १० औं स्थानमा पर्छ । तर, अबको १० वर्षपछि यो तेस्रो स्थानमा आउन सक्ने भन्दै उहाँले सावधानी अपनाउन सुझाव दिनुभयो ।
सुगर तथा प्रेसरका बिरामीहरुमा मृर्गौलाको जोखिम बढि हुने उहाँको भनाइ छ । रगत, पिसाब र अल्ट्रासाउन्ड जांच गर्ने हो भने धेरै हदसम्म मृर्गौलाको अवस्था बारे थाहा हुने उहाँको भनाइ छ ।
डायलाइसिस गराउनै पर्ने स्थितिसम्म पुग्नुपर्ने अवस्था आउन नदिन चेकजाँच नै उपयुुक्त विकल्प भएको पनि उहाँले बताउनुभयो । उहाँले मृर्गौला रोगको पहिचान गर्न जोखिम समुदाय सबैको स्कृनिङ गर्न जरुरी रहेको बताउनुभयो ।
शरीर सुनिने, शरीर चिलाउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिए मृर्गौलामा समस्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । मृर्गौला रोगीले नुनको मात्रा कम खाने, मदिरा तथा धूम्रपान सेवन नगर्ने, प्रोटिनको मात्रा मिलायर खाने हो भने आयु लम्ब्याउन सकिने पनि उहाँको भनाइ छ ।
लक्ष्मी सरस्वती पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टरको आयोजनामा आज नेपालगञ्जमा स्वास्थ्यकर्मीहरुलाई मृर्गौला रोग व्यवस्थापन सम्बन्धी कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.हमालले मिर्गौला सुरक्षाका लागि सबै नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो ।
मृर्गौला सुरक्षाबारे स्वास्थ्यकर्मीहरुलाई पनि विशेषज्ञ चिकित्सकबाट तथ्यपरक जानकारी प्रवाह गर्नका लागि कार्यक्रम गरिएको पोलिक्लिनिकले जनाएको छ ।





