बाँकेमा पहिलो दिन ३४ हजार बढीले लगाए खोप

नेपालगञ्ज । दादुरा रुबेला रोगबिरुद्ध संचालन गरिएको अभियानको पहिलो दिन बाँकेमा ३४ हजार बढी बालबालिकाले खोप लगाएका छन् । आज आइतबारबाट संचालन भएको अभियानमा सहभागि हुँदै बाँकेका आठ वटै पालिकाका ३४ हजार २ सय ३८ जना बालबालिकाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठका अनुसार जिल्लामा पहिलो दिन आइतबार १६ हजार ५५ जना बालिका र १८ हजार १ सय ८३ जना बालकले दादुरा रुबेला रोगबिरुद्धको खोप लगाएका छन् ।

अभियानमा राप्तीसोनारी गाउँपालिकामा ३ हजार ५ सय ८९ जना, कोहलपुर नगरपालिकामा ८ हजार ७२ जना, बैजनाथ गाउँपालिकामा २ हजार २ सय १५ जना, खजुरा गाउँपालिकामा ५ हजार ९ सय ३३ जना, जानकी गाउँपालिकामा १ हजार ९ सय ८७ जना, नेपालगञ्ज उपमहानरपालिकामा ६ हजार ३ सय ७५ जना, डुडुवा गाउँपालिकामा ४ हजार ३ सय ३२ जना र नरैनापुर गाउँपालिकामा १ हजार ७ सय ३५ जनाले पहिलो दिन खोप लगाएका छन् ।

नेपालगञ्जका २३ वटै वडामा वडाहरुबाट ३ हजार १ सय ३९ जना महिला र ३ हजार २ सय ३९ जना पुरुषले खोप लगाएको फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा १५% बालबालिकाले खोप लगाएका हुन् । नेपालगञ्जका ४२ हजार २ सय ७२ जना बालबालिकालाई खोप प्रदान गरिने लक्ष्य रहेको छ ।

यो अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइनेछ । बाँकेमा कुल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । आजदेखि सुरु भएको यो अभियान ३० गतेसम्म जारी रहने छ ।

Previous articleभूकम्प प्रभावित क्षेत्रमा काम गर्ने साझेदारबीच अन्तरक्रिया
Next articleप्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीले जित्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here