
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न नेपाल-भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ । शक्ति समूहले नेपालगञ्जमा आज आयोजना गरेको मानव वेचविखनबिरुद्ध नेपाल भारत कार्यशाला गोष्ठीमा मानव बेचबिखन रोक्न दुई देशका सरोकारवाला निकाय र व्यक्तिबीच प्रभावकारी सहकार्यमा जोड दिइएको हो ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरुसमेत उपस्थित कार्यशालामा मानव बेचबिखनको स्वरुप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको आवत जावतको मुख्य केन्द्र भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरुले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताउनुभयो ।
उहाँले नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रक्रिया र माध्यम फरक भएको बताउनुभयो । उहाँले हिजोआज पढेलेखेका र सबै कुरा बुझेकाहरु पनि रोजगार पाइने आशामा मानव बेचबिखनमा पर्ने गरेको बताउनुभयो ।
शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामाङ्गले नेपाल र भारत दुवै देशमा नेपालीहरु असुरक्षित भएको विषयलाई कसरी सुरक्षित बनाउने बिषयमा गम्भीर हुन आग्रह गर्नुभयो । शक्ति समूहका अध्यक्ष नातीसरा राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यतास इण्डिया कोलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखनबिरुद्ध काम गर्ने संघसंस्थामा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।





