नेपालगञ्ज-१८ मा जानकी जोड्ने सडकको स्तरोन्नती शुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ मा जानकी गाउँपालिकासँग जोडिएको सडकको स्तरोन्नती शुरु भएको छ । विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडकको स्तरोन्नती कार्यको वडा नं-१८ का वडाध्यक्ष दिपक कुमार बर्माले शिलान्यास गर्नुभएको छ ।

‘गत बर्ष अन्तिममा आएर सरकारले पुरै बजेट कटौती गरिदियो’, शिलान्यास गर्दै वडाध्यक्ष बर्माले भन्नुभयो, ‘तैपनि अघि बढाएको काम रोकिनु हुन्न भनेर वडाबाटै १ सय ५० मिटर लामो काम भएको थियो ।’ एक करोड बढी बजेट स्वीकृत भई कार्ययोजना अगाडि बढिरहँदा अन्तिममा आर्थिक अभावले उक्त सडकको बजेट सरकारले कटौती गरेको थियो ।

‘त्यो बेला मेरो पहलमा वडा नं-१८ का लागि ल्याइएको तीन करोड बजेट अर्थ मन्त्रालयबाट एकाएक कटौतीमा पर्यो’, वडा अध्यक्ष बर्माले भन्नुभयो, ‘जानकीबाट किनमेलदेखि उत्पादित बस्तु बेचबिखनका लागि आउने सडक निर्माण कार्य अगाडि बढाउन पाएकोमा खुशी छु ।’

उहाँले निरन्तरको प्रयासपछि यसपटक ५० लाख बजेट निकासा गर्न सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार क्रमागत योजनामा राखेर ५० लाख विनियोजन भएकाले काम सकिए लगत्तै थप बजेट पर्नेमा विश्वस्त भएर सडकको स्तरोन्नती शिलान्यास गरिएको हो ।

पहिलो चरणमा तीन सय मिटर लामो अस्फाल्ट कालोपत्रे सडक, वेश तथा सब वेश गरी सात मिटर चौडाई भित्र ६ मिटर अस्फाल्ट गरिनेछ । शिलान्यास कार्यक्रममा सहभागी स्थानीयले जानकीसँगको सम्बन्धलाई बलियो बनाउने गरी सडक कालोपत्रे हुन लागेकोमा वडाध्यक्ष बर्माको पहल प्रति खुलेर प्रशंसा गरेका थिए ।

Previous articleमलेसियामा उपचाररत वलीलाई उद्धारका लागि सहयोग गरिदिन परिवारको अपिल
Next articleवार्षिकोत्सवका अवसरमा न्यूरो ट्रमाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here