
सुर्खेत । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक अनुसार हुम्लाको ताजाकोट गाउँपालिका-२, ३ र ४ तथा कालिकोटको खाँडाचक्र नगरपालिका-२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।
हुम्लाको ताजाकोट-१, चङ्खेलीको-२, अदानचुली गाउँपालिकाको-२ र ३, मुगु सोरु गाउँपालिकाको-४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका-७ सहित ९ वडा मध्यम जोखिममा रहेका छन् ।अधिकृत आचार्यका अनुसार सुर्खेतमा २०, दैलेखमा ३ र कालिकोटमा १ गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् ।
उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ । सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो । विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ ।
जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको आचार्यले बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निमित्त निर्देशक डा.रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४-२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
सोही लक्ष्य अनुसार कर्णालीमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उहाँले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताउनुभयो ।





