
नेपालगञ्ज । गर्मी बढेसँगै पौडी खेल्न मन लागेको छ ? छ भने अब चिन्ता लिन पर्दैन । नेपालञ्जमा अब मात्र दुई सय रुपैयामा पौडी खेल्न अर्थात स्विमिङ्ग गर्न सकिन्छ । गर्मी छल्नका साथै मनोरञ्जन लिन काठमाडौं पछि नेपालगन्जमा सबैभन्दा सस्तो मूल्यमा अन्तर्राष्ट्रियस्तरको मापदण्डमा रहेको पौडी पोखरीमा पौडी खेल्न जान सकिन्छ ।
हुन त नेपालगन्जमा दर्जनबढी पौडी पोखरीहरु छन् । तर प्राय नेपालगन्जका ठूला होटलहरुमा रहेका कारण तपाईलाई स्विमिङ्ग गर्न मन लागेता पनि शुल्क सुन्दा जान मन लाग्दैन । तर अब सस्तो शुल्कमै नेपालगन्जमा रंगशाखाभित्र रहेको ठूलो अन्तर्राष्ट्रिय मापदण्डसहितको पोखरीमा स्विमिङ्ग गर्न सकिन्छ ।
यहाँ नेपालगन्जका प्राय पौडी पोखरीमा लाग्ने शुल्कभन्दा करिब ७० प्रतिशत कम शुल्क अर्थात मात्र दुई सय रुपैयाँ लुम्बिनी प्रदेश खेलकुद परिषद नेपालगञ्ज प्रमुख महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ पौडी खेल्न लगाइने कष्ट्यूमको शुल्क पनि अरुको भन्दा कम छ ।
नेपालगन्जका अन्य पौडी पोखरीभन्दा रंगशालामा रहेको यो पोखरीको पानी सफा गर्न ५ वटा मोटर पम्पबाट नियमित सफा गरिन्छ । यो पौडी पोखरीको साइज अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५० बाइ २५ फिटको र गहिरार्ई ४ देखि ६ फिटसम्मको छ ।
जुन काठमाडौं बाहिरको पहिलो हो । यसका साथै लाइफगार्ड, सिसिटिभि निगरानी समेत रहेको छ । अन्य ठाउँभन्दा सस्तो भएकाले गर्मी बढेसंगै यहाँ युवाहरुको आकर्षण समेत बढेको छ ।





