
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-८ स्थित बालापुर भएको भीषण आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।
बुधबार दिउँसो साढे १२ बजे बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घरमा आगलागी भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं ४२ रिजर्भ गणबाट डीएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको १०५ जना टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
करिब २ घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिए पनि अन्दाजी ३० लाख रुपैयाँको क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ । एक्कासी सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावर लगायत अन्न जलेर नष्ट भएको हो ।
आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । नेपाली सेना, स्थानीय प्रहरी र स्थानीयहरुले आगलागी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सहयोग गरेका थिए । करिब ३० लाख बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिए पनि पूर्ण विवरण अझै आइनसकेको बताइएको छ ।





