
नेपालगञ्ज । नेपालगञ्जमा भएको बजार अनुगमनमार्फत चार उद्योग जरिवाना तिराइएको छ । आइतबार भएको अनुगमनमार्फत मापदण्ड विपरित सञ्चालित चार वटा खानेपानी उद्योगलाई जरिवाना तिराइएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भएको अनुगमनमा क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएपछि तत्काल गरिएको जरिवानाबाट एक लाख ९० हजार रुपियाँ संकलन भएको छ ।
६ वटा उद्योग तथा व्यवसायमा भएको स्थलगत अनुगमनमा चार वटा उद्योग तथा व्यवसायले उपभोक्ताको हित विपरीत कार्य गरेको पाइएको प्रशासनले जनाएको छ ।
नेपालगञ्ज कारकाँदोस्थित जय बागेश्वरी ड्रिकिङ्ग वाटर उद्योगबाट २० हजारका साथै उद्योग सिल समेत गरिएको छ । उक्त उद्योगबाट प्रयोग नहुने अवस्थामा रहेका २३ थान पानीका जार समेत नष्ट गरिएको छ ।
यस्तै खजुरारोडस्थित जय श्रीराम आइस उद्योगले बिल बिजक बिना कारोबार गरेको हुँदा २० हजार रुपियाँ जरिवाना र सरसफाइपछि मात्रै सञ्चालन हुने निर्देशन दिइएको छ ।
त्यस्तै शान्ति खाद्य उद्योगले सम्बन्धित निकायबाट उद्योग सञ्चालन इजाजत नलिई उद्योग सञ्चालन गरेको पाइएकाले ५० हजार रुपियाँ जरिवाना खजरारोडमै रहेको शाह डिष्ट्रिब्युटर्स एन्ड सप्लायर्सले मूल्यसूची नराखी कारोबार गरेकोले एक लाख रुपियाँ जरिवाना गरिएको बाँकेका निमित्त प्रजिअ जोरा सिंह माझीले जानकारी दिनुभयो ।





