बाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

प्रहलाद विश्वकर्मा । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा दुई दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ ।

युवा रेडक्रस सर्कल ज्ञानोदय मा.वि.खजुराको आतिथ्यतामा संचालन भएको उक्त गोष्ठीको पहिलो दिन प्रभातफेरी कार्यक्रम गरी सुरु भएको हो । उक्त गोष्ठीको समुदघाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि रत्न खत्रीले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

मन्त्री खत्रीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न हरेक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन हुनुपर्ने र ती युवाहरुको क्षमता अभिबृद्धि र रेडक्रसका मानवीय गतिविधिका लागि लुम्बिनी प्रदेश सरकार रेडक्रससंग सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि एवं लुम्बिनी प्रदेश सभासद् बादशाह कुर्मीले विश्वभरी रेडक्रसले विश्वासनीयता कायम राखेको जुन अरु संस्थाले गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले सामाजिक कार्यमा प्रदेश सरकारबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

अधिकांश वक्ताहरूले मानवतालाई जीवित राखौं भन्ने मुल नारालाई आत्मसाथ गरी बालबालिकाहरुलाई डिग्रीका साथै संस्कार सिकाउनु पर्ने, दक्ष र समक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, विपद् न्यूनीकरणका लागि जनचेतना अभिबृद्धि, युवालाई नेतृत्व तहमा पुरयाउने र अगामी दिनमा स्थानीय सरकारसंगको सहकार्य अतिआवश्यक रहेको कुरा उल्लेख गरेका थिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जुनियर तथा युवा रेडक्रस समितिका संयोजक, सर्कलका शिक्षक नायक र सर्कल पदाधिकारी एवं सदस्य छात्र तथा छात्राहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ ।

उक्त गोष्ठीको बन्द सत्रमा रेडक्रस अभियान, नेतृत्व विकास, जलवायु परिवर्तन, तातो हावाको लहर (लु(, युवा सहभागिता रहेको रणनीति, जुनियर तथा युवा कार्यप्रणाली निर्देशिका, जुनियर तथा युवा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुती, बार्षिक कार्ययोजना निर्माण र खजुरा घोषणा पत्र जारी गरि गोष्ठी सम्पन्न हुने लुम्बिनी प्रदेश जुनियर तथा युवा समितिका संयोजक ज्ञानहरी रिजालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो केन्द्रीय जुनियर तथा युवा समिति संयोजक विष्णु नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, केन्द्रीय सदस्य नौल सिंह पुन, गुमानराज पुलामी, नेरेसो सुदुरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढा, कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी, गण्डकी प्रदेश अध्यक्ष सूर्य ढकाल, लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, खजुरा गा.पा.वडा नं.२ का वडा अध्यक्ष धनिराम वली, नेरेसो बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय मा.वि.शिक्षक अभिभाव संघका अध्यक्ष मानबहादुर भण्डारी, सर्कल संरक्षक एवं प्र.अ.ऋषिराम सापकोटा र युवा सर्कल अध्यक्ष प्रियंका चौधरी लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

Previous article१० नम्बर वडास्तरीय युवा क्लब संजालको अध्यक्षमा थापा चयन
Next articleस्वाँ या पुंन्हीको उपलक्ष्यमा १६ जनाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here