
नेपालगञ्ज । बाँकेमा संचालन हुने पालियाे राेगबिरूद्वकाे अभियान अन्तर्गत ३५ हजार बढी बालबालिकालाई खाेप लगाईने भएको छ ।
स्वास्थ कार्यालय बाँकेले बुधबार नेपालगञ्जमा आयाेजन गरेकाे सराेकारवालाबी अन्तरक्रिया कार्यक्रममा यस पटक बाँकेमा याे अभियानका क्रममा ३५ हजार सात सय पाँच बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइने जनाईएकाे छ ।
बाँकेमा यही जेष्ठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा वि.सं २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको जानकारी दिइएको हो ।
जिल्लामा ताेकिएकाे दुई सय ४३ वटा खोप केन्द्रमार्फत चार सय ८६ जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिने खोप संयोजक नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने बताउनुभयो ।
नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोपकेन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले कुनै पनि बालबालिकाहरु खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेलाई पोलियोमुक्त गराउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गरिएको बताउनुभयो ।





