
नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले बिहीबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ ।
औपचारिक कार्यक्रमअघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राख्नुभयो ।
‘मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य छ,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘र योग समिति नेपाल योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय छ, त्यसका लागि समितिलाई धन्यवाद् ।’
उहाँले आफ्नो कार्यकाल अवधिमा नेपालगञ्जलाई योगमय बनाउने उद्घोष गर्नुभयो । योग समिति नेपाललाई अन्तर्राष्ट्रिय योग सम्मेलन गर्न अनुरोधसँगै नेपालगञ्जबासीलाई नियमित योग गर्न नगर प्रमुख बिष्टले अनुरोध गर्नुभयो ।
योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज-२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समितिका सल्लाहकार नन्दलाल बैश्य लगायतको उपस्थिति रहेको थियो ।
स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, सुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिनुभयो ।
योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्न प्रेरित गर्न सफल बनेको छ । समितिल गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको प्रेरक समिति बनेको सर्वसाधारण बताउँछन् । 





