प्राविधिक सहायकको भरमा तरकारी, फलफूल परीक्षण प्रयोगशाला सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालन भएको छ ।

नेपालगञ्जमा स्थानीय उत्पादन तथा भारतबाट आयातित तरकारी तथा फलफूल रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र एक दर्जन बढी चोकमा ठेलामा बिक्री वितरण हुँदै आए पनि केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्ति अभावले तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्नुपर्ने बाध्यता छ।

स्रोत साधन र जनशक्ति अभावमा तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्दै आएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक गौरव चौधरीले बताउनुभयो ।

प्रयोगशाला एकाइमा प्राविधिक सहायक चौधरी र एकजना कार्यालय सहयोगीमात्र कार्यरत हुनुहुन्छ । जनशक्ति अभावमा तरकारी तथा फलफूल बजारबाट नमूना सङ्कलनमा समस्या भएको छ ।

कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री गर्दा उपभोक्ताको भान्सासम्म विषादी पुगेको चौधरीले बताउनुभयो ।

बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ ।

शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन भएका तरकारी तथा फलफूलजन्य वस्तुमा चालु आर्थिक वर्षको १० महिनामा गरिएको विषादीको नमूना परीक्षणमा पाँच वटा पाइएको नायब प्राविधिक सहायक चौधरीले बताउनुभयो ।

‘प्रयोगशालामा आठ सय ४९ विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा पाँचवटा नमूनामा कैफियत पाइएको छ,’ उहाँले भन्नुभयो, ‘तीनवटा नमूनामा (रेडलेबल) उपभोग गर्न नमिल्ने र दुई वटा नमूनामा (एल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको हो ।’ साभार:रासस

Previous articleक्षमता अभिबृद्धिका लागि ठाकुरद्वारामा नेतृत्व विकास तालिम संचालन
Next articleकिशोरकिशोरीद्वारा ठाकुरबाबा-७ काे स्वास्थ्य संस्थामा अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here