
नेपालगञ्ज । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा शनिबार नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघ आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेेका थिए ।
महिला पत्रकार र महिला उधमीबीच भएकाे पहिलाे खेलमा दुबै टाेलीले एक एक गाेल गरेका थिए । महिला पत्रकारकाेे तर्फबाट खेलकाे पहिलाे हाफमा साबित्री गिरीले गोल गर्नु भएको थियो भने खेलकाे दाेस्राे हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो ।
यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७-० गाेलले हराएकाे थियाे ।
शनिबार बिहान नेपालगञ्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल एण्ड स्पोटर्स हबकाे खेल मैदानमा भएको दाेस्राे खेलमा स्वास्थ्यकर्मीको तर्फबाट डा.शुविन साहुले २ गोल, डा.शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १-१ गोल गर्नु भएको थियो ।
मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बाेल्दै सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो ।
युनियनको स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुलाई शुभकामना दिँदै सभापति गौडेलले भन्नुभयो, ‘युनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशिल छ । तपाईहरुको साथमा नेपाली कांग्रेस बाँके सधै रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।’
नेपाल प्रेस युनियन बाँके अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष प्रियास्मृति ढकालले पत्रकारिता क्षेत्रमा हामीले नियमित काम गर्दै आइरहेको स्मरण गराउँदै नयाँ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथै आपसमा सम्बन्ध विस्तार गर्नमा सहयोग पनि गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत गर्नुभएको थियाे । यस्तै स्थापना दिवसको अवसरमा आइतबार युनियन बाँकेले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएकाे युनियन बाँके सचिव भीष्म लाेधले जानकारी दिनुभयाे ।
नेपालगञ्जकाे गणेेशमान चाेकमा रहेकाे लक्ष्मी सरस्वती पाेलिक्लिनिक एण्ड डाईग्नाेष्टिक सेन्टरकाे सहकार्यमा बिहान ७ बजेदेखि जिल्लाका सम्पूर्ण पत्रकारहरूकाे पश्चिम नेपालका एकमात्र मृगाैला राेग बिशेषज्ञ डा.शाैरभ हमालले स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएकाे छ । शिविरमा सम्पूर्ण पत्रकार सहभाागि हुन सचिव लाेधले आग्रह गर्नुभएको छ ।





