
नेपालगञ्ज । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगञ्जमा उद्घाटन गर्दै डा.कोइरालाले नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज भएको बताउनुभयो ।
सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्ने बताउनुभयो । कांग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने दाबी गर्दै सहमहामन्त्री राठौरले कांग्रेस मजबुत बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले पार्टीलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । राठौरले आपसी रिसराग त्यागेर टोल र वडामा संगठन बनाउनतर्फ लाग्न आह्वान गर्नुभयो । जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यद्वय डा.गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व जिल्ला सभापतिहरु किरण कोइराला, कृष्णमान श्रेष्ठ र गजेन्द्र हमाल, लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता र मो.नकी खाँ लगायतले सम्बोधन गर्नुभएको थियो ।
दोस्रो जिल्ला सम्मेलनमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एकरएक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।
सभापति गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।





