बाँकेमा पहिलोपटक विरहा प्रतियोगिता

नेपालगञ्ज । बाँकेमा पहिलोपटक विरहा प्रतियोगिता कार्यक्रम गरिएको छ । कला र संस्कृतिको संरक्षणका लागि जिल्लामा पहिलो पटक जानकी गाउँपालिकास्तरीय विरहा प्रतियोगिता कार्यक्रम गरिएको हो । जानकी गाउँपालिकाको आर्थिक सहयोगमा यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यालयको आयोजना गरिएको विरहा प्रतियोगितामा वडा न-५ प्रथम, वडा न-२ द्वितीय र वडा न-३ तृतीय भएको छ ।

प्रथम वडा न-५ को समूहमा जगेश्वर यादव, जगमोहन यादव र नन्कउ यादव रहनुभएको थियो । द्वितीय वडा न-२ को समूहमा मालती यादव, सावितराम यादव, राधे यादव रहनुभएको थियो भने तृतीय वडा न-३ को समूहमा सन्तोष यादव, सुकईलाल यादव र सक्टु यादव रहनुभएको थियो । बिजयीहरूलाई जानकी गाउँपालिकाका प्रवक्ता एवम् वडा न-५ का वडा अध्यक्ष टिकानाथ यादव, कार्यपालिका सदस्य एवम् वडा न-४ का वडा सदस्य कमलादेवी यादव, वडा न-३ का वडा सदस्य हुसैनी यादव र केन्द्रका केन्द्रीय संस्थापक कोषाध्यक्ष एवं हालका सल्लाहकार मिश्रीलाल यादव र केन्द्रका केन्द्रीय अध्यक्ष सूर्यलाल यादवले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् वडा अध्यक्ष टिकानाथले जिल्लामा पहिलो पटक यस प्रकारको प्रतियोगिताले यादव समुदायमा प्रख्यात यो विशेष गितको संरक्षणमा ठुलो योगदान पुर्याउने बताउनुभयो । यादव समुदायका व्यक्तिहरूले खासमा खुसी, टाढापन, एक्लो भएको बेला, वनजंगल गएको बेला, गोठाला जाने समय लगायत विभिन्न समयमा यो गीत गाउने प्रचलन रहेको उहाँले स्पष्ट पार्नुभयो ।

समुदायको कला, संस्कृत संरक्षणका लाागि यो कार्यक्रम फलदायी हुन्छ, अध्यक्ष यादवले भन्नुभयो, यस्ता कार्यक्रम प्रतियोगिताले इतिहासलाई जोगाउने कार्य गर्छ । कार्यपालिका सदस्य कमलादेवीले गाउँ गाउँमा विद्यमान विरहा गीतलाई आउने पुस्तालाई सिकाउन आवश्यक रहेको धारणा राख्नुभयो । विरहाका बारेमा पुराना व्यक्तिहरूलाई मात्रै जानकारी भएकाले समुदायका हरेक सन्ततिले जान्नुपर्नेमा जोड दिनुभयो ।वडा सदस्य हुसैनीले पहिलो पटक आयोजना गरिएको कार्यक्रमको प्रशंसा गर्दै पालिकाले यो नौलो विषयमा सक्रियता देखाएकोमा धन्यवाद दिनुभयो । विरहा यादव समुदायसँग जोडिएकाले यसको जगेर्ना जरूरी रहेको बताउनुभयो । केन्द्रका केन्द्रीय अध्यक्ष सूर्यलालले समुदायमा रहेको यो चलनलाई दिगो बनाउन सहयोेगी भूमिका निर्वाह होस भनेर यो कार्यक्रम गरिएको बताउनुभयो । विभिन्न बाधा, चुनौतीका बीच कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा सम्पूर्ण समुदायलाई आभार व्यक्त गर्नुभयो ।

१९ वर्षपछि सक्रिय भएको केन्द्रले सामाजिक कार्यमा अग्रसरता बढाएको छ । शुरूमा एउटा संस्था संचालन गर्ने भनेर केन्द्रको स्थापना गरिएको थियो । पछिल्लो समय केन्द्रले समुदायका विपन्न तथा जेहेन्दार किशोरीहरुलाई छात्रवृत्ति तथा विवाहमा सहयोग गर्ने लगायतको कार्य गर्दै आएको छ । विरहा एक खालको गीत हो । यो गीत धेरैजसो यादव समुदायमा गाउने गरिन्छ । खासगरी गोठाला गएका समय, बिदेश रहेका समय, जंगल वा वनपात गएका बेला, समुदायका व्यक्ति जम्मा भएको समयमा गाउने गरिन्छ । यो व्यक्ति बिशेषको परिचय, बखान, सम्मान, पीडा, दुःख, धर्म संस्कृति, हासो मजाक जस्ता कुरा वा बिषयबस्तुलाई समेटेर गाईने एक गीत हो ।

बिजयी प्रतियोगीहरूमध्ये प्रथम हुने प्रत्येकलाई साईकल, द्वितीय र तृतीयलाई दुधको बम्बी प्रदान गरिएको थियो । दुई चरणमा भएको प्रतियोगितालाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवसमेतले सम्बोधन गर्नुभएको थियो ।

Previous articleनेपालगञ्ज वडा नं-२ मा साईबर अपराधबारे अभिमुखिकरण
Next articleनगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जल रेग्मी प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here