
नेपालगञ्ज । “बालश्रमको अन्त्य गर्ने हाम्रो प्रतिबद्धता पुरा गरौं” भन्ने मुल नाराका साथ नेपालगञ्जमा बुधबार बालश्रमको अवस्था बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
२३औं विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकामा बालश्रमको अवस्था विषयक प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ का निर्जल रेग्मी प्रथम हुनुभएको छ ।
प्रतियोगितामा नेपालगञ्जकै सलमान बागवान द्धितिय र वडा नं-९ की सालिया हास्मी तृतिय हुन सफल हुनुभएको छ । प्रथम भएका रेगमीले ६५.६६, द्धितिय बागवानले ५०.६६ र तृतिय हास्मीले ४८ अंक प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा नेपालगञ्जका १२ जना बालबालिकाहरु सहभागि भएका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको आर्थिक एवं प्राविधिक सहयोगमा नगरस्तरीय बाल क्लब संजालको आयोजनामा भएको कार्यक्रमलाई शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।
सो क्रममा बोल्दै प्रमुख थापाले यस्ता कार्यक्रमले बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न मद्दत गर्ने बताउनुभयो । बालबालिकाले पढाईका साथै यस्ता अतिरिक्त गतिबिधिमा पनि सक्रिय सहभागि हुनुपर्ने धारणा राख्नुभएको थियो ।
नगरस्तरीय बाल क्लब संजालका अध्यक्ष जारा खानको अध्यक्षतामा भएको प्रतियोगितामा भिम बहादुर बुढा, यशोदा नेपाली र चरित्रा शाहले निर्णायकको भूमिका निर्वाह गर्नुभएको महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेताहरुलाई निर्णायकत्रय बुढा, नेपाली, शाह, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य तारा प्रसाद खत्री, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी नायब निरीक्षक दिलसरा रानाले पुरस्कार बितरण गर्नुभएको थियो ।
प्रतियोगितामा जानवी गिरी, सोनम बानो, गुनगुन वंसकार, समिर राई, दिपा झा, एकता बर्मा, कृष्ण भुजुवा, सवाना इद्रिसी र लक्ष्मी गुप्ता सहभागि हुनुभएको थियो । संजालका सचिव हर्षित पाण्डेले संचालन गर्नुभएको कार्यक्रम संजालका पदाधिकारी तथा सदस्यहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।





