
नेपालगञ्ज । गाउँपालिका अध्यक्षले कोषमा रकम राख्न पाउने माग गर्दै सभा बहिस्कार गरेरपछि बाँकेको जानकी गाउँपालिकाको १६ औं गाउँसभा बस्न सकेको छैन ।
यही असार १० गते १६ औं गाउँसभा राखिएको थियो । गाउँसभाको एक दिनअघिसम्म अध्यक्ष छब्बन खाँले सबै ठिक रहेको भन्दै गाउँसभा डाकिएको थियो । तर गाउँसभाका दिन आफ्नो कोषमा रकम राख्न पाउनुपर्ने भन्दै सभा नै बस्किार गर्नुभयो, स्रोतले भन्यो ।
‘एक दिनअघिसम्म सबै ठिक रहेको निर्णय गरेको अध्यक्ष सभाका दिन आफ्नो कोषमा रकम नहुने भएपछि सभा नै बहिस्कार गर्नुभयो,’ स्रोतले भन्यो, ‘उहाँले कोषमा दुई करोड हुनुपर्ने अडान लिनुभयो । गत वर्ष दुई करोड कोषमा राखिएकाले यस वर्ष पनि हुनुपर्ने अध्यक्षको माग रह्यो ।’
कोषमा रकम राख्न नमिल्ने भएपनि कोषमा रकम हुनुपर्ने अध्यक्ष खाँको माग छ । ‘अध्यक्ष खाँलाई योजना बनाउनुस् भनेर भन्दा ३ करोड ३४ लाखको योजना बनाउनुभयो,’ एक जनप्रतिनिधिले भने, ‘यसका साथै अध्यक्षले ५० लाख मर्मत खर्च, ३० लाख लक्षित कार्यक्रम र १५ लाख रकम विविधमा हुनुपर्ने समेत माग राख्नुभएको छ ।’
आफ्नो कोषमा पैसा राखेपछि सबै वडामा आफुले कार्यक्रम चलाउने भनेर अड्डी लिनुभएको हो । नियमसंगत नभएको र उहाँको कुरा गाउँसभाका सभासदले नमानेपछि गाउँसभा विथोलिएको हो । कोषका कारण वडा कार्यालयमा जाने बजेटको सीमा ह्वात्तै घट्ने भएकाले अध्यक्षको नियमविपरित मागमा सहमति नजनाएको एक जनप्रतिनिधले बताए ।
यसरी नियमविपरित बजेट बाँडफाँड गर्दा वडामा २३ लाख मात्रै बजेट जाने हुन्छ । जबकी अघिल्लो आर्थिक वर्षमा ६७ लाख रुपैया पुगेको थियो । अघिल्लो वर्ष वडा नं १ देखि ४ सम्म ६७ लाख, ३ नम्बर वडामा ९० लाख र ६ नम्बर वडामा ७७ लाख बजेट सीमा बनाइएको थियो । यो वर्ष त्यो भन्दा पनि दोब्बरले कम गर्ने भएकाले अध्यक्षको कुरामा जनप्रतिनिधिले सहमति जनाएनन् ।
यद्दपि यो वर्ष सबै वडाहरुमा एक करोडबढीको कार्यक्रमहरु दिने भनेर अघिल्लो दिन गाउँपालिका अध्यक्ष खाँले सहमति गर्नुभएको थियो । तर सभा बसेको दिन नै वडालाई सहमति अनुसारको बजेट दिन नसक्ने जनाएपछि विवाद उत्पन्न भएको थियो ।
आफैले गरेको निर्णयलाई आफैले लत्याएर आफनै बेइज्जत गर्नुभएको छ, एक जनप्रतिनिधिले भने । गाउँसभालाई सफल बनाउने पालिका अध्यक्षको जिम्मेवारी भएपनि यहाँ त आफ्नै निर्णय लत्याउँदै सभा बस्किार गर्नुभयो ।
सभाको अघिल्लो दिन वडा नं-१, २, ४ र ५ लाई ८५ लाखका दरले बजेट दिइने, वडा नं-३ लाई एक करोड उपलब्ध गराइने र वडा नं-६ लाई ९५ लाख दिने कार्यपालिका बैठकबाट निर्णय भएको स्रोतले भन्यो । अध्यक्ष खाँ आफैले बहिस्कार गरेपछि जानकीको गाउँसभा अन्योल बनेको छ ।





